मनास्लु बेसक्याम्प, विरेन्द्र ताल , लार्के पास, मनास्लु सर्किट
वर्षमा ३/४ वटा ट्रेकिंग सम्म जाने गरे पनि प्राय ट्रेकिंगहरु छोटा हुन्थे, तर लामो ट्रेकिंग दशैंको लागि बचाएर राखिन्थ्यो। दशैंमा लामो ट्रेकिंग जाने क्रमको छैठौँ बर्षमा मनास्लु जाने भन्ने कुरा दुई महिना अगाडी देखि योजना बनाएको भए पनि निर्णयमा पुग्न सकिएको थिएन । कता जाने भनेर योजना बनि नसके पनि समुह मा चाहिँ सन्जोग, पासा (राजेन्द्र) र सन्जोग को दुई जना साथी हरु जाने भनेर कन्फर्म भएको थियो । संघर्ष भट्टराई दाई र राम सँग उनिहरुको इटिनेरी मागी सकेर तेस्लाई ग्रुप च्याटमा पस्किदा मात्र थाहा भयो कि ट्रेकिंग त लामो हुने रैछ अनि फर्किदा नवमी जति पुग्ने रैछ भनेर । धेरै दिन लाग्ने देखे पछि सन्जोग ले अर्को ठाउँ जाम दाई भन्न थाल्यो र यो यात्रा मा सहभागी नहुने भयो। हल्का गुगले अनुसन्धान पछि अर्को विकल्पको रुपमा Nar Phu Valley Trek जाने कि भन्ने कुरा पनि आयो । यति लामो ट्रेक यति बिना योजना होला भनेर सोचेको पनि थिइन । एक महिना अगाडी मात्र पाँच पोखरी ट्रेक, त्यो पछि कार्यालयमा कार्य व्यस्तता, फिल्ड भिजिट,अफिसको एक हप्ते पोखरा मिट-अप र त्यस लगतै ट्रेक ले गर्दा योजना बनाउने समय नै पाइएन । यी सबैका बाबजुत जे जे देख्यो तेही प्याक गरेर एक हप्ता अगाडी पोखरा आएँ। पोखरा आए पछिका सबै दिन अत्यन्त व्यस्त हुँदा शुक्रबार साँझ पाँच बजे सम्म पनि कहाँ जाने, कसरि जाने भनेर ग्रुपमा छलफल पनि भएन । पासाले उता ट्रेक जानेको संख्या ४ पुराएको पनि तेही शुक्रबार दिउँसो थाहा भयो । साँझ सम्म पनि नार-फु,अप्पर मुस्तांग, अथवा मनास्लु जाने भन्ने कुरा निश्चित थिएन तर, मनको कुनामा मनास्लु नै गैएला जस्तो लागेको थियो । अन्तिम समयमा काठमाडौँमा रहेको टिमलाई जाम कटाउनलाई मलेखु झर्ने गरी रात्री बस चढ्न भनेर म पनि होटेल बाट घर आएर झोला प्याक गरें । फोन गरेर बाग्लुंग काठमान्डूको रात्री बसको सिट रोक्का गरें । कुर्दा कुर्दै रातीको १२ बजे घर नजिकै चोक बाट बस चढें । मलेखु पुग्दा बिहानको ४:३० बजेको थियो । एउटा होटेलमा बोलाएर एउटा कोठा बुक गरेर एक छिन सुत्यौं हामी। बिहानै उठेर यात्रा गर्नु पर्ने, आठ बजे सम्म सुतिएछ ।
पहिलो दिन (मलेखु, आरुघाट- सोती खोला )
मलेखु बाट फुर्के खोला सम्म एक किलोमिटर हिडेर गए पछी धादिंग वेंशी को गाडी चढ्नु अगाडी सेलरोटी र चना खाइयो । एउटा माइक्रो चढेर हामी चारै जना (म, राजेन्द्र, सुविन्द्र र राजेश) धादिंग वेंशी पुग्दा साँढे नौ बजेको थियो । त्यहाँ बाट ११ बजे आरुघाट जाने गाडीको टिकट काटेर बजार परिक्रमा लगायौं । मैले ट्रेकको लागि खाने कुरा पनि किनेको थिइन तेसैले त्यहिँ बसपार्क नजिकै खाने कुरा पनि किनियो । हामी १ बजे आरुघाट पुग्नु पर्ने थियो तर बस गाउँ गाउँ घुम्न्दै जाने भएको ले आरुघाट खोला वारी पुग्दा २ बजिसकेको थियो । फेरी २:३० मा सोतीखोला सम्म जाने बसको टिकट काटेर साSSSSSनो मिनी बसको लास्ट सिटमा चारै जना बस्यौं । सोती खोला नपुग्दै बाटोमा एउटा गाडी बिग्रेकोले हाम्रो गाडी १ घण्टा भन्दा बढी समयको लागि रोकियो । सोतीखोला पुग्दा साँझको ६ बजी सकेको थियो । त्यो दिन अर्को गन्तव्य नपुगिने भए पछि सोती खोलाकै एउटा होटेलमा झोला बिसायौं । एक बुक तास किनेर कल ब्रेक खेल्दै थियौं, होटेलको साहुले पैसाको हो कि होइन भनेर सोध्यो, नजिकै प्रहरी चौकी पनि भए पछी बिना पैसाको खेलेको भनेर एक छिन् खेल्यौं । भोली बिहान ६ बजे हिंड्न सुरु गर्ने सर्तका साथ् हामी बिस्तारामा लड्यौं ।
दोश्रो दिन (सोती खोला – दोभान – यारु फाँट )
सबै जना समयमै उठेको भएर, ६ बजे नै माछाखोला तर्फ हिंडन सुरु गर्यौं । आर्मीले पहाड फोडेर बनाएको कच्ची मोटरबाटो भए पनि पुल नभएकोले पुष माघ अगाडी गाडी हरु चल्न सम्भव थिएन । अनवरत रुपमा ३ घण्टा हिंडे पछी हामी ९:१५ मा माछा खोला पुग्यौं र चाउचाउ सुप खायौं । माछाखोला काटीसके पछि ट्रेकको वास्तविक बाटो सुरु हुन्छ । पहिलो दिनमै अनेकौं झर्ना, पहिरोले पुरिएको बाटो, निरन्तर खसिरहने ढुंगाहरु र बुढीगण्डकीको छेवैमा हिंड्न थाल्ने बित्तिकै निक्कै टाढा र विकट ठाउँमा पुगेको अनुभव हुन्छ । तातोपानीमा खाना पाक्न ढिला हुने भए पछी हाम्रो आजको लन्च दुई बजे मात्र दोभानमा सम्भव भयो । लन्च गरेर निस्के पछि खुट्टाको रफ्तार ढिला चल्दै थियो, पेटमा ढुंगा बोके जस्तो हुन्थ्यो अनि ढाडमा त भारी छदै थियो । जगत पुगेर बास बस्ने हाम्रो योजना साथीहरु थाकेकोले पाँच बजे यारुबगरमा नै रोकियो । पोखराको रक गार्डेन रेस्टुरेन्ट जस्तै ठुला ढुंगाको माथी बनेको होटेल रमाइलो नै थियो । हामी त्यहाँ कुर्दै गर्दा दिउँसो भेटिएका ३ जना भाई हरु पनि त्यहिँ आइपुगे र उनीहरुलाई पनि त्यहीं बस्न सुझायौं । भाइ हरु सँग परिचय भयो (भास्कर, निराजन र गौतम) र एक छिन् रमाइलो गफ र समय बिताए पछी ९ नबज्दै बिस्तारा तिर लाग्यौं ।
तेश्रो दिन (यारु फाँट – सल्लेरी – पेवा – डेंग )
बिहान ६ बजे हिंड्ने कुरा तय भैसकेको ले उठेर बिल तिरेर हामी नेपालकै पहिलो र लामो Cantilever Bridge (ढुंगामा खोपेर बनाइएको झोलुंगे पुल) हुँदै यात्रा तय गर्यौं । ८ बजे सल्लेरी पुगेर हाम्रो नियमित ब्रेकफास्ट (चाउचाउ सुप) खायौं । सल्लेरी बाट अगाडी बढ्दै गर्दा मौसम सफा भएको बेलामा मनास्लु को चुचुरो देख्न सकिन्छ । सल्लेरी देखि अगाडी बढ्दै गर्दा बाटोमा आन्तरिक र बाह्य पर्यटकको ठुलै लावा लस्कर देखिएको थियो । यो बाटो लार्के पास सहित, चुम भ्याली (Tsum Valley) पनि जाने साझा बाटो भएकोले यतिका पर्यटक देखिनु स्वाभाविक थियो । साँघुरो बाटो अनि खच्चर लाई बाटो छोड्नु पर्ने भए पछि प्राय सबै संगै नै हिड्ने भएको ले, सबै जना लामो ताँतीमा हिंडीरहेको थिए । त्यहि बाटोमा एक जना स्कटल्याण्डको डक्टर सँग कुराकानी भयो । उसले हामी गाइड बन्ने प्राक्टिस मा हिडेको सोचेको रहेछ । त्यो हिडाईमा Brexit, Us Election, नेपालको राजनैतिक अवस्था, भ्रस्टाचार र स्वास्थ्य, शिक्षाको विषयमा कुरा भयो । निज व्यक्ति चाहिँ, चुम उपत्यका गएर त्यो पछि मनास्लु बेसक्याम्प हुँदै लार्के पास गर्ने योजनामा आफ्नी प्रेमिका र ६५ बर्षे प्रेमिकाको बाउलाई लिएर आएको रहेछ । उ सँग को गफ निकै रमाइलो यस अर्थमा पनि रह्यो कि, म संगै हिंडेका अन्य तीन जना साथी हरु खाट्टी नेवार भएकोले उनीहरु प्राय नेवारीमै कुरा गर्थे जसले गर्दा मलाइ आफै नै विदेशी जस्तो भान भैरहेको थियो । चिसापानीमा खाना खाए पछी केही बेरको हिडाईमा चुम उपत्यका र लार्के पासको बाटो छुट्टिनछ । म कानमा एअरफोन ठोसेर डाउनलोड गरेका पोडकास्ट सुन्दै अगाडी थिएँ भने पासा, सुवी र राजेश नेवारी गफमा बिस्तारै पछाडी आउदै थिए । पाँच बजे पछी नहिड्ने हाम्रो शर्तका अनुसार हामी डेंग भन्ने ठाउँमा बस्ने निर्णय गर्यौं । त्यहाँ पनि पुगेर चिया खाइयो, तास खेलियो र खाना खाएर सुत्यौं ।
चौथो दिन (डेंग – बिहि फेदी- गाप – नामरुंग )
यात्रा यति छिट्टै महँगो हुन्छ भनेर तेती बेला थाहा भयो जति बेला होटेलको साहुजी ले प्रति व्यक्ति खानाको ८५० र सानो थर्मस तातो पानीको २१० रुपयाँ सहित ४४०० को बिल पेश गरे । तेही बिल तिरेर हिड्ने बेला थाहा भयो, रात भरि हल्ला गर्ने केटीहरुको ग्रुप पोखरा बाट आएको रहेछ । डेंग बाट बिहान ६ बजे नै हिड्न सुरु गर्यौँ । राना भन्ने सानो ठाउँमा त्यहिँको रुखमा फलेका स्याउ प्रतिगोटा २० रूपयाले किनेर खायौं । त्यहाँ बाट बिहिफेदी पुग्दा लगभग ८ बजेको थियो र दुखदबस सुविन्द्रको हिजो साँझ दुखेको खुट्टा फेरी दुख्न थालेको थियो । उसले नेवारीमै कुरा गर्ने भएकोले Pain Killer खायो कि खाएन भनेर पनि राम्ररी बुझिन । तर राजेन्द्रको पनि खुट्टा दुखेको भएर उसले चाहिँ पेनकिलर खाएको थियो । सुवीलाई छिट्टै घोडाको व्यवस्था गर्नु पर्ने देखियो । तै पनि हामी (पासा र म, फर द फर्स्ट टाइम) बिस्तारै हिड्यौं र घापमा गएर सुविन्द्र र राजेश लाई कुर्यौं । त्यहाँकि जवान साहुनीले हाम्लाई फ्रीमा फ्रेस स्याउ खान दिइन्, जुन निकै मिठो थियो । घापमा घोडा पाउन गार्हो हुने भएकोले पासा र म फरेस्ट लज गएर घोडाको पनि बन्दोबस्त गर्ने अनि लन्च पनि अर्डर गर्न हाम्रो पेसमा निस्केम् । फरेस्ट लजमा गएर ४ जनालाई खान अर्डर गरे पछि साहुजी सँग घोडाको विषयमा कुरा गर्यौं । अनेक लम्बा चौडा कुरा पछि साहुले सामागाउँ सम्म घोडाले पुराएको १२,००० रुपयाँ माग गरे । हामीले हुन्छ त भन्यौ, तर सुविन्द्रले एकजना गाइडको बाट फोन गरेर आफु हरु दुवै हिड्न नसकेको, खाना खाइसकेको र घोडाको बन्दोबस्त गर्दिन फोन गरे । घोडाको आइडिया तेतिबेला तुहियो जति बेला राजेश लाई पनि घोडा चाहिने भयो र घोडा हिडाउने मान्छे को पनि छुट्टै पैसा लाग्ने भयो । सबै जना घोडा चढ्न सक्ने भए पनि तेता जाँदा धेरै पैसा नबोकेकोले एकै दिनमा दुई जनालाई झन्डै ३०,००० खर्च गर्न सक्ने अवस्था रहेन । अब केहि कठोर निर्णय लिनु पर्ने बेला आएको थियो । बाँकि यात्रा हामी हाम्रो पेसमा र उनीहरु उनीहरुको पेसमा हिड्ने भन्ने मेरो सोचाइ थियो । तर मलाई अचम्मित चाहिँ तेती गार्हो हुदा पनि उनीहरुलाई फर्किने विचार नआएकोले बनाएको थियो । मैले उनीहरुलाई सुझएं कि, ट्रेकिंग को आधा बाटो पनि हिंडीएको छैन,फर्किने बारेमा पनि सोच, पछी आउदा पनि हुन्छ यति गार्हो गरेर जानु भन्दा भनेर । उनीहरुले त्यो दिन तेही बसेर विचार गर्ने भने पछी पासा र म ३ बजे नाम्रुंग तर्फ लाग्यौं । साँझ साँढे चार बजे एउटा होटेल मा बसेर बास बस्यौँ ।
हामी बसेकै होटेलमा केहि समय पछी हाम्ले दोश्रो दिन भेटेको भाईहरु पनि आइपुगे । उनीहरु संगै एक जना सोलो ट्रेकर पनि आएका थिए , उनि लिटिल एन्जल्स को शिक्षक रहेछन । अलि समय पछी अर्को सोलो ट्रेकर पनि आइ पुगे, उनको नाम रोशन थियो जो लार्के पास गर्ने दिन सम्म लगभग संगै रहे हामी सँग ।
पाँचौ दिन (नाम्रुंग – ल्हो -श्याला – सामा गाउँ )
चौरी, घोडा र खच्चड हिंडेर हिलिएको बाटो मा हाम्रो पाचौ दिन को यात्रा सुरु भयो । आज देखि चाहिँ पासा र म मात्रै थियौं किन कि सुबी हरुले फर्किने निर्णय गरिसकेको थिए। बाटो भरी लटरम्म फलेका स्याउ र त्यो उच्च भेगमा देखिएको लहलाउदो धान खेतले मनै आनन्दित हुन्थ्यो। त्यहि माथी मौसम पनि सफा थियो र बेलाबेलामा मनास्लु हिमालको चुचुरो पनि देख्न पाइन्थ्यो।
तस्बिर: नाम्रुंग बाट ल्हो जाने बाटोमा देखिने मनोरम फाँट
झन्डै ११ बजे तिर हामि ल्हो भन्ने ठाउँ पुग्यौं, जहाँ एउटा ठुलै बस्ती देख्न पाइन्छ। र यदि तपाइँ संग पैसा सकिदै छ भने कुमारी बैंकको शाखा रहित बैंकिग सेवा पनि छ यहाँ। यहाँ बाट पैसा झिक्न लाई तपाईले कुमारी बैंकको कुनै खातामा पैसा पठाउन लाउनु पर्ने हुन्छ अनि यहाँ रहेका व्यक्ति (छिरिंग लामा) ले तपाईलाई नगद उपलब्ध गराउने छन् । हिजो नाम्रुंगमा भेट भएको दिदि को होटेल भएको ले हाम्ले फोन बाटै खाना अर्डर गरिसकेको थियौं।खाना खाएर आराम गरे पछी हामी ल्हो बाट स्याला को लागी हिड्यौं। ल्हो कट्ने बित्तिकै हाम्ले बाटो बिरायौं र एउटा गुम्बा पुगेउं। ४ बर्ष अगाडीको भूकम्पले भत्काएको गुम्बा को मर्मत भैराखेको रैछ । बाटो बिराएर लामो बाटो लागे पनि हामी सही दिशामा रैछौं । यति बेला सम्म पानी पनि पर्न थालेको थियो। पानी मा रुझ्दै खोला नाला तर्दै हामी २ बजे स्याला पुग्यौं ।
हामी श्याला पुग्दा हामी संग नाम्रुंगमा भेट भएको साथी रोशन पहिल्यै पुगिसकेको रहेछ । त्यो दिन झरी मात्रै परिरहेको भएर रोशन चिया खाँदै थियो , हामी भने भिजेको लुगा विश्राम गरेरै उतार्ने सोच ले नरोकिइ कन सामागाउँ तिर लाग्यौं। सामागाउँ पुग्नु भन्दा धेरै पर देखि नै सामा गाउँ देखिन्छ। पानी निरन्तर परिरहे पनि हेली हरु आइ रहेको देखिन्थ्यो, बाटो तेर्सो थियो तर पानी परिरहेको ले धेरै ठाउँ मा चिप्लो, हिलो थियो। पासा त एक ठाउँमा मज्जाले लर्कियो पनि। पानीमा रुझ्दै र चिप्लिदै हामी साँढे ३ बजे सामा गाउँ पुग्यौं। मनास्लु ट्रेकिंग रुटमा माछा खोला बाट हिडे पछी सबै भन्दा ठुलो बस्ती भनेकै सामा गाउँ हो। मनास्लु हिमाल चढ्ने र चढेर झरेका हरुको ठुलो समुह देख्न र भेट्न पाइन्छ सामा गाउँमा। हिमाल चढ्ने र ट्रेकिंग को पनि राम्रो समय भएको भएर होला, हाम्लाई कोठा पाउन हम्मे हम्मे पर्यो। पछि रोशन पनि आइपुग्यो , उसले पनि कोठा नपाएको भएर हामीले लिएको कोठा नै शेयर गरेर बसौं भनेर निर्णय गर्यौं। रोशन हामी संगै बस्ने भए पछी हाम्रो अलि खुलेर परिचय भयो, राजधानी कै एउटा IT कम्पनी मा बिजनेस एनालिस्ट भएर काम गरेर भर्खरै निस्केको रहेछ। त्यो दिन सामा गाउँ नजिकै रहेको एउटा मन्दिर पुगेर हामी कोठा मै फर्क्यौं। साँझ पर्ने लाग्दा यारु मा भेटिएका भाई हरु पनि आई पुगे। उनीहरुले हामी बसेको होटेल को नजिकै अर्को एउटा होटेलमा कोठा पाएर त्यहीं बसे।
छैठौ दिन (सामा गाउँ – मनास्लु बेस क्याम्प – वीरेन्द्र ताल – सामा गाउँ)
यो दिन बिहान सम्म हाम्रो योजना मनास्लु बेसक्याम्प पुगेर फर्केर आएर अलि अगाडी सम्म को यात्रा तय गर्ने थियो। तर बेसक्याम्प गए पछी हामी फर्किदा विरेन्द्र ताल जाने र आज सामागाउँ मै बस्ने मनसाय बनाएर ढिला ढिला फर्क्यौं। दिन एकदम गज्जबको थियो , सुर्योदय का किरण हरु मनास्लुमा टलक्क टल्किएका थिए। हामी चिया , बिस्कुट खाएर ६:१५ तिर मनास्लु बेसक्याम्प को लागि हिड्यौं। हेर्दा नजिकै देखिएर पनि पुग्न एकदम समय लाग्ने बाटो हो सामागाउँ देखि बेसक्याम्प सम्मको यात्रा। सामागाउँबाट बाट हिंडे पछी बेसक्याम्प जाने उकालोको मध्य भाग तिर एउटा चिया घर छ। हामीले पनि त्यहाँ पुगेर चाउचाउ र चिया बिस्कुट खाएर फेरी उकालो तिरको यात्रा सुरु गर्यौं। हामी बेसक्याम्प पुग्दा सम्म चाहिं बिहान प्रस्ट देखिएको मनास्लु हामी संग लजाएर बादलु भित्र लुकामारी खेल्दै थियो। मौसम सफा हुँदा बेसक्याम्प बाट हिमाल चढ्ने हरुको क्याम्प १ र क्याम्प २ पनि देख्न सकिन्छ। हिमाल चढेका र झरेका हरु र उनीहरुका सहायकहरुको क्याम्प र बाटो भरि नै घुइंचो थियो। कलिलो उमेरका युवा युवति देखि वृद्ध वृद्धा हरु पनि गह्रौं गह्रौं भारी बोकेर उकाली ओराली गर्दै थिए। बेसक्याम्प मा बस्दा हिंउपहिरा खसिरहेको देख्न र सुन्न पाइन्थ्यो। घाम गैसकेको र चिसो बढ्दै गएको हुनाले हामी झन्डै १ घण्टा मात्र बसेर बेसक्याम्प बाट ओराली लाग्यौं। फर्किने बेला मा अघिकै झुपडी नजिकै एकजना दाईले आफ्नो गोठ मा चौरी ल्याउनु भएको रैछ। दाइको मा गएर एक लिटर चौरीको दुध रु. २०० तिरेर लिएर आएर त्यहि झुपडीमा तताएर खाएम। राजेन्द्र र रोशन ले एक एक कप खाए, मैले एक कप भन्दा अलि बढी खाएँ। हामी चौरीको दुध खाएर निस्किदा झन्डै साँढे एक बजेको थियो।
त्यो सानो चिया पसल बाट ओरालो लाग्दै गर्दा बाटो मा एक दुई हुल नेपाली भेटिए। यसो कुरा गर्दै जाँदा त सुरथ गिरि भन्ने ब्लगर रैछन्। म २०७१ सालमा रारा ताल ट्रेकिंग जाने बेलामा यिनकै ब्लग पढेर त्यसैको सहायताले गएको थिएँ। त्यो कुरा उनलाई सुनाउँदा खुशी नै भए होलान् भनम। हामी सामा गाउँ जाने बाटो कै बिच बाट विरेन्द्र ताल तिर बरलियौ। बाटो नदेखे पनि ताल हेर्दै हेर्दै, भिड र झाडी छिचोल्दै हामी साँढे २ बजे विरेन्द्र ताल पुग्यौं। मनास्लु र आसपास का हिमाल हरु को सिधै मुनि विरेन्द्र ताल रहेको छ। यो तालको अरु ताल भन्दा विशेषता चाहीं के छ भने, अरु ताल जस्तो छेउ छेउमा गहिराइ कम छैन यो तालमा। तालको छेउमै पनि एकदमै गहिरो छ विरेन्द्र ताल। तालको छेउमा हल्का फोटो सेसन गरेर हामी तालबाट निस्केको पानी, जुन पछि अरु सँग मिस्सिदै बुढी गण्डकी नदि बन्छ, हुँदै सामागाउँ तिर लाग्यौं। हाम्ले बाटो नभेटेर भन्दा पनि खोलै खोला हिंड्दै जाउँ भनेर त्यसरी तिरै तिर हिडेका थियौं।कति पय ठाउँमा खोलाले कटान गरेको भएर हिड्ने बाटो नभएर अप्ठ्यारो पनि पर्यो हाम्लाई। घरि खोला वारी र घरि खोला पारी गर्दै हामी ४ बजे सामागाउँ पुग्यौं।
सातौ दिन (सामा गाउँ – साम्दो – धर्मशाला)
सामागाउँ बाट धर्मशाला (४४०० मिटर ) को लागि ६:३० तीर नै हिड्यौं हामी। आजको दिन हिड्नु पर्ने दुरी धेरै नभए पनि चाडो नै निस्कियौं। लगभग २ घण्टा सिधा सिधा बाटो हिंडे पछि हामि ८:३० मा साम्दो भन्ने ठाउँ पुग्यौं। साम्दोमा चिया खाएर हामी त्यहाँ बाट अगाडी बढ्यौं। झन्डै आधा घण्टा पछी लार्के बजार पुगिन्छ। बजार भनिए पनि यहाँ बजार छैन, यो खर्क जस्तो ठाउँ हो। लार्के बजार बाट दायाँ तिर लाग्यो भने तिब्बत को सिगात्से पुगिन्छ। यो उत्तरी भेगका समुदाय लाई सर सामान किन्न लाई सबै भन्दा नजिकैको ठाउँ भनेकै सिगात्से हो। लार्के बजार बाट झन्डै २/३ घण्टा हिंडे पछि सिगात्से पुगिन्छ। हामी चाहिं बायाँ लाग्यौं , जुन धर्मशाला तिर जाने बाटो हो। लार्के बजारबाट धर्म शाला लाग्दै गर्दा चाहीं, हामी हिमाल को ठ्याक्कै अगाडी अगाडी हिंडी रहेको अनुभव हुन्छ। सायद त्यो पांगपोचे हिमाल हो जुन हामी हिंड्दै गर्दा हाम्रो पछाडी पट्टि पर्छ।
हामि पौने बाह्र बजे धर्मशाला पुग्यौं , जुन लार्के पास गर्नु पहिलाको अन्तिम बास बस्ने ठाउँ हो। भिरालो जमिन, सानो खोलाको नजिकै रहेको, समुद्री सतह देखि ४४०० मिटरमा रहेको धर्मशालामा धेरै होटेल हरु पनि छैनन् । दिन पुरै बाँकी भए पनि र लार्के पास गर्न समय भए पनि, १२ बजे पछि एकदम धेरै हावा चल्ने हुनाले हामी पनि धर्मशालामै बस्यौं। १२ बजे खानको लागि चाउचाउको सुप मात्र थियो होटेलमा र हामी त्यहि खाएर पसिनाले भिजेका लुगा, मोजा सुकायौँ। अलि बेर आराम गरेर हामी अलिकति उचाई लिउँ भनेर धर्मशाला माथी को डाँडा तिर उकालो लाग्यौं। हेर्दा खेरि अब त्यहाँ पुगे पछि त क्षितिज सकिन्छ भन्ने लाग्छ, तर जति उकालो काट्दै गयो, उति अर्को क्षितिज देखिन्थ्यो। तै पनि झन्डै दुई घण्टा जति माथी चढ्यौं हामी र एक छिन त्यहाँ बसे पछि, ५ बजे तिर फर्केर कोठामै बस्यौं।
आठौं दिन (धर्मशाला – लार्के पास- भिमथांग – याक खर्क – सुर्की – तिल्जे )
दशैंको फूलपाती को दिन। सबै भन्दा धेरै हिंडेको दिन । सायद सबै ट्रेक हरुमै सबै भन्दा धेरै हिंडेको दिन पनि होला। बिहान ३ बजे उठेर, नित्य कर्म सकाएर, चिया खाएर रोशन , म , र पासा ४:१० मा धर्मशालाबाट टर्च लाइट र मोबाइलको भरमा लाग्यौं लार्के पास गर्न लाई। झन्डै ६ नबज्ने बेला सम्म बाटोको दायाँ बायाँ केहि पनि देखिदैनथ्यो, तर पनि हिडेको बाटो ढुङ्गै ढुंगाको बिचमा भएको चाहिँ थाहा हुन्थ्यो। ६ बजे पछि बिस्तारै ग्लेसियर हरु देखिन थाले, अनि अलि पर सम्मको दृश्य पनि। आज दुई वर्ष पछि ब्लग लेख्दै गर्दा पनि ति अदभुत दृश्यहरु झल्झली याद आउँछ। आहा, सायद स्वर्ग तेस्तै छ होला ! उज्यालोमा मनोरम दृश्य हरुको आनन्द लिदै हामी साँढे सात (७:३०) बजे लार्के पास पुग्यौँ। लार्के पास समुद्री सतह देखि ५१०६ मि. उचाई मा रहेको छ। यहाँ बाट ४५ मिनेट को लार्के पासको बसाई पछि हामी लार्के फेदी तर्फ लाग्यौं। लार्के पास पछि आधा घण्टा भन्दा बढी सिधा सिधै अथवा अलिकति उकालो हिडे पछि बल्ल ओरालो झर्ने बाटो आउँछ। यहाँ बाट तल झर्दै गए पछी लार्के पास आउंछ। यहाँ भर्खरै खुलेका केही होटेल हरु थिए।लार्के फेदीमा चाउचाउ, चिया खाएर हाम्ले रोशन लाई कुरेर बस्यौं। लार्के पास पछि रोशन अलि बिस्तारै आउदै थियो। यसै पनि रोशनको यात्रा उसले बनाएको योजना भन्दा अगाडी भएको भएर उसलाई आज धेरै हिड्नु पर्ने वाध्यता थिएन। रोशनलाई भेटेर पासा र म अलि अगाडी सम्मै जाने बिचारले त्यहाँ बाट छुट्टियौं।
लार्के फेदीबाट ओराली झरेको १:१५ घण्टा पछि हामि झन्डै १२ बजे भिम्थाङ्ग पुग्यौँ। दशैंमा घर पुग्नु नपर्ने भएको भए भिम्थाङ्गमा २/४ दिन बस्न मन थियो। उस्तै आकार र डिजाइनले बनाइएका, समथर भेग, छेऊमा शान्त भावमा बगेको खोला र त्यहाँ बाट देखिने दृश्य अत्यन्त मनोरम छ। हामी चाहिं त्यहाँ धेरै समय नबिताई कन मर्स्याङ्ग्दि खोलाका मूल खोला हरु हुँदै ओरालो झर्यौं। भोली गाडी चढ्न भ्याउने गरि हामि हिंडिरहेको थिएम, त्यसैले जुन ठाउँमा खाना पाकिरहेको छ त्यहीँ खाने विचारले हामि निरन्तर हिड्यौं। पौने दुइ बजे हामी याकखर्क पुग्यौँ र त्यहीँ खाना अर्डर गरेर खाएम। साग र भात तात्तातो खाइयो, दाल बिहानै पकाएको थियो। खानाको लागि रोकेको एक घण्टामा खाना खाएर निस्केको पहिलो पटक होला हामी , २ :४५ मा हामी याकखर्क बाट हिड्यौं।
बिहान ४ बजे देखिको थकानले ज्यान थाक्दै थियो , तर याकखर्क बाट अगाडी लागे पछि तिल्जे को एक जना गुरुङ बाजे भेट हुनु भो। उहाँ सँग गफ गर्दै उहाँकै गतिमा हिंड्न थालेम हामी। ३:४५ मा सुर्की र ५:४५ मा तिल्जे पुग्यौँ हामी। बाजे नभेटिएको भए सायद हामी तिल्जे पुग्थेनौं अथवा अलि अध्यारो हुन सक्थ्यो। तिल्जे पुगे पछि उहाँ बाजेकै एक जना नातेदारको होटेलमा बस्ने भयौं। त्यहाँ पुग्ने बित्तिकै पासा र मैले थकित जिउको लागी तात्तातो पेय पदार्थ लिएम। साँझ पनि टन्नै भात दाबेर सुतियो।
नवौं दिन (तिल्जे – वेशीसहर – पोखरा )
बिहानै उठेर अगिल्लो दिनको बिल तिरे पछि हामी जिप भेट्न लाई तिल्जे बाट धारापानी झर्यौं। धारापानी देखि बेशी शहर पुग्न झन्डै ४ घण्टा लाग्छ। नौ बजे तिर धारापानी बाट हाम्रो जिप हिड्यो। हाम्रो जिपमा दुई जना अस्ट्रेलियन र उनीहरुका गाइड पनि थिए। खै गाइड र पर्यटकको के कुरा मिलेको रैनछ, उनीहरु हाम्लाई सोध्दै थिए, अनि गाइडले चाहिँ नबोल्नुस भन्दै थियो। मर्स्याङ्ग्दि तिरै तिर अनि भिरै भिर, कति ठाउँमा कहाली लाग्दो बाटो हुँदै र ताल गाउँ, बाहुनडाँडा, अनि नेपालकै पहिलो सुरुङ्गमार्ग हुँदै हामी १ बजे तिर वेशिशहर पुग्यौं। वेशिशहर पुग्ना साथ् एउटा साधारण होटेलमा खाना खाएर हामी काठमान्डौ जाने माइक्रोमा चढ्यौं। आबु खैरेनी पुगे पछि, म झरेर एउटा स्कोर्पियोमा पोखरा लागें भने पासा त्यहि माइक्रोमा काठमान्डौ तिर लाग्यो। यसरी नवौ दिनमा एउटा बब्बाल ट्रेक सक्काएर अष्टमीको दिन घर आइपुगियो।
समग्रमा, हाम्रो यात्रा को समयावधि यस्तो रह्यो :
दिन | यात्रा | समय |
पहिलो | मलेखु – आरुघाट – सोतिखोला | सवारी साधन (~ ६ घण्टा ) |
दोश्रो | सोती खोला – मछाखोला – दोभान – यारुफांट | ११ घण्टा |
तेश्रो | यारुफाँट – जगत – सल्लेरी -न्यक – पेवा – डेंग | १० घण्टा |
चौथो | डेंग – बिहि फेदी – ग्याप – फरेस्ट लज – नाम्रुंग | १० घण्टा |
पाँचौ | नाम्रुंग – ल्ही – श्याला – ल्हो – श्याला – सामागाउँ | ८ घण्टा |
छैठौँ | सामागाउँ – वेसक्याम्प – वीरेन्द्र ताल – वेसक्याम्प | १० घण्टा |
सातौँ | सामागाउँ – साम्दो – धर्मशाला | ५ घण्टा ३० मिनेट |
आठौँ | धर्मशाला – लार्के पास – लार्के फेदी – भिम्थाङ्ग -सुर्की -तिल्जे | १३ घण्टा ३० मिनेट |
नवौं | तिल्जे – धारापानी – वेशिशहर | १ घण्टा पैदल + ४ घण्टा जीप |
धन्यवाद
मेरो ब्लग सम्म आएर, यो ब्लग पढ़दिनु भएकोमा धन्यवाद। तपाईलाई कस्तो लाग्यो कृपया कमेन्ट गर्नु होला।